नेपाल राजपत्र

नेपालमा राजपत्रको प्रकाशन सर्वप्रथम वि.सं. २००८ साल श्रावण २२  गतेदेखि नेपाल गजेटको रूपबाट शुरू भयो । नेपाल गजेटलाई २०२३ साल माघ १७ गतेबाट राजपत्रको नाममा संसोधन गरियो । नेपाल राजपत्र नेपाल सरकारको आधिकारीक प्रकाशन हो जसमा राष्ट्राध्यक्षबाट जारि भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन, अध्यादेशहरू र नियम प्रकाशन गरिन्छ । विभिन्न प्रकारका महत्वपूर्ण सरकारी निणर्यहरुलाई वैधानिकता दिने तथा नागरिकहरुलाई ऐन, नियमको दायरा भित्र राख्ने  सरकारी पत्र नेपाल राजपत्र वि. सं. २००८ साल देखि हालसम्म पनि नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेर मुद्रण विभागले प्रकाशन गरि आमजनसमुदायलाई सरकारी निर्णयहरुको लिखित जानकारी दिई नागरिकहरुको सूचनाको हक सम्बन्धी अधिकार प्रदान गर्दै आइरहेको छ ।

नेपाल राजपत्र प्रकाशनको प्रक्रिया :

नेपाल राजपत्रमा प्रकाशित सामाग्रीहरु नेपाल सरकारका सरोकारवाला मन्त्रालय वा विभागको आधिकारीक प्रमाणिकरण पश्चात् मात्रै गरिन्छ । ऐन अध्यादेश वा सन्धी भए कानून मन्त्रालयको सचिवले, नियम भए सम्वन्धित मन्त्रालयको सचिवले र अन्य सूचना भए जुन मन्त्रालयबाट कार्यान्वयन हुने हो सोही मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतले प्रमाणित गरी प्रकाशनको लागि पठाउनु पर्ने छ । तर यसरी प्रकाशन हुने सबै सूचनाहरू कानून मन्त्रालयबाट अनिवार्य रुपमा सम्पादन गरिएको हुनु पर्दछ ।

यसै सन्दर्भमा नेपाल राजपत्रलाई प्रकाशनको हिसावले  निम्न लिखित दुई तरिकाबाट प्रकाशन गर्ने सरकारी निर्णयलाई प्राथमिकता दिदै मुद्रण विभागले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्ने गरेको छ ।

१. संख्या (नियमित अंक) – नियमित प्रकाशन हुने अकंमा ऐन र अध्यादेश बाहेक नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भएका सवै प्रकारका सूचना तथा नियमावलीहरुलाई वि.सं. २००८ सालदेखि २०७८/११/१८ सम्म साप्‍ताहिक रुपमा प्रत्येक हप्ताको सोमबारका दिन मात्र प्रकाशन गर्ने गरेकोमा नेपाल सरकारले नेपाल राजपत्रको नियमित अङ्क हप्ताको दुई पटक सोमबार र बिहीबार प्रकाशन गर्ने निर्णय गरेको सूचना खण्ड ७१, संख्या ४५, नेपाल राजपत्र, भाग ५, मिति २०७८/११/१६ मा प्रकाशित भए बमोजिम मिति २०७८/११/१९ देखि हप्ताको दुई पटक सोमबार र बिहीबार राजपत्रको प्रकाशन गरिँदै आएको छ ।
२. अतिरिक्ताङ्क – नेपाल सरकारले निणर्य गरेकै मिति उल्लेख  गरी संविधान, ऐन, अध्यादेश, नियमावली  तथा  मन्त्रिपरिषद्‌बाट पारित जरुरी सूचनाहरुलाई उक्त मितिदेखि नै लागू हुने गरी पछि प्रकाशन हुने राजपत्रलाई अतिरिक्ताङ्क भनिन्छ ।

नेपाल राजपत्रका भागहरु :

राजपत्रमा प्रकाशन हुने सामाग्रीहरुको  महत्व र गाम्भीर्यतालाई  दृष्टिगत गरी नेपाल राजपत्रलाई निम्न लिखित छ भागमा विभाजन गरिएको छ ।

१. भाग १ – यो भागमा संविधान वा संविधान सरहका घोषणा पत्रहरुको प्रकाशन गरिन्छ ।

२. भाग २ – यसमा व्यवस्थापिका संसदबाट पारित  भै राष्ट्रपतिबाट लालमोहर लागेका ऐन तथा अध्यादेशहरु प्रकाशन गरिन्छ ।

३. भाग ३ – यो भागमा मन्त्रिपरिषद्बाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश वा अधिकार पत्रहरु प्रकाशन गर्ने गरिन्छ ।

४. भाग ४ – संविधान अन्तर्गतका नियुक्ति तथा सूचनाहरुलाई यस भागमा समावेश गर्ने गरिन्छ ।

५. भाग ५ – ऐन नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा प्रकाशन गर्नु पर्ने भनि उल्लेख भएका सूचनाहरु यस भागमा प्रकाशन गर्ने गरिन्छ ।

६. भाग ६ – नेपाल पक्ष भएका सन्धी तथा सम्झौताहरु नेपाल राजपत्रको भाग ६ मा प्रकाशन गर्ने गरिन्छ ।

राजपत्रबाट उठाइने राजश्वको प्रक्रिया :

यसरी प्रकाशन गरिने  राजपत्रको दुरुपयोग हुन नदिन र यसबाट नेपाल सरकारलाई केही हदसम्म भएपनि आम्दानी गराउने उद्देश्यले प्रत्येक सदस्यका लागि र फूटकर रुपमा खरिद गर्न चाहनेका लागि खरिद दर निर्धारण गरिएको छ । यसरी निर्धारित राजपत्रको खरिद वा राजश्वको स्वीकृत दररेट यस विभागको मिति २०७९/१२/१२ को विभागीय निर्णयानुसार वि.सं. २०८० साल वैशाख १ गते देखि लागुहुने गरी देहाय अनुसार  कायम गरिएको छ।

१. वार्षिक सदस्यताका लागि :-

  • हुलाकबाट रजिष्ट्री गरी पठाउँदा लाग्ने वार्षिक शुल्क                                रु. ३०००।-

  • मुद्रण विभाग मार्फत सदस्यलाई वुझाउँदा लिइने वार्षिक शुल्क                 रु. ३०००।-

  • मुद्रण विभागमा स्वयं आफै आई वुझिलिदाँ लाग्ने वार्षिक शुल्क                 रु. १८००।-

२. फुटकर विक्रीको लागि :-

सदस्य नभएको व्यक्ति वा सघं सस्थांले आफुलाई आवश्यक पर्ने राजपत्र लिन चाहेमा फुटकर विक्री मूल्य निम्न बमोजिम तोकिएको छ।

  • १ देखि ८ पेज सम्म एक प्रतिको                  रु.५।-

  • ९ देखि २४ पेज सम्म एक प्रतिको               रु.१५।-

  • २५ देखि ४० पेज सम्म एक प्रतिको             रु.२५।-

  • ४१ देखि ५६ पेज सम्म एक प्रतिको             रु.३५।-

  • ५७  देखि ७२ पेज सम्म एक प्रतिको           रु.४५।-

  • ७३  देखि ९६ पेज सम्म एक प्रतिको           रु.६०।-

  • ९७ देखि बढी जति पेज हुन्छ, त्यसमा थप प्रति पेज ४२ पैसाका दरले शुल्क लाग्‍नेछ ।

पुनश्‍च :- माथि उल्लेखित अनुसारको मूल्य कायम गरी वार्षिक सदस्यता नविकरण बैशाख महिनामा गर्ने तथा त्यसभन्दा पछि भए कम्तिमा तीन महिना नघट्ने गरि वार्षिक सदस्यता शुल्कको औसत रकम लिइ बाँकि अवधिको लागि मात्र सदस्य बनाउने निणर्य भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ।

Search